काठमाण्डाै । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न न्यायिक छानबिन समिति गठन हुनुपर्ने माग गरेका छन् । प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद निश्कल राईले सुनसरी घटनाको निष्पक्ष छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभयो । उहाँले यो घटनाका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलाउने पक्षलाई कारबाही गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै एमालेका सांसद गुरुप्रसाद बरालले यस्ता घटना फेरि दोहोरिन नदिन र त्यसमा संलग्न दोषीलाई कानूनी दायरामा ल्याई विधिको शासन कायम गर्न निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्नुभयो ।
नेकपाकी सांसद बलावती शर्माले सुनसरीमा भएको घटनालाई सबै पक्ष मिलेर रोकथाम गर्नु निकै सराहनीय भएको भन्दै यो घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्नुभयो । उहाँले पीडित नागरिकले प्रधानमन्त्रीको भौतिक उपस्थिति खोजिरहेको भन्दै घटनाप्रति सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । त्यस्तै नवलपरासीको सुस्तामा भएको भूमि समस्याका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै उहाँले समाधानका पक्षमा पहल गर्न सरकारसँग अनुरोध गर्नुभयो ।
श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङ राईले पनि सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न माग गर्दै आउँदा दिनमा त्यस्तो हुन नदिन आवश्यक वातावरण तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद डा. अमरेशकुमार सिंहले सुनसरीसहितका क्षेत्रमा केही दिनअघि भएको घटना समाधानमा प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने खेल्नुभएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले तराई मधेशमा हुने अन्दोलन, घटना र विवादमा सीधै गोली चलाउने गरिएको आरोप लगाउँदै यसलाई रोक्नुपर्ने बताउनुभयो ।
यसैबीच रास्वपाकी सांसद इन्दिरा रानामगरले पाकिस्तानको ब्रोड पिक हिमपहिरोमा परेर ज्यान गुमाएका आरोही निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभएको छ ।











