काठमाण्डाै । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय बजारमा देखिएको खाना पकाउने एलपी ग्यास सिलिन्डर अभावको विषयमा व्यवसायीसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय, विभाग, उद्योगी तथा ग्यास वितरण व्यवसायीलगायतको भूमिकाबारे छलफल भएकाे थियो ।
छलफलमा व्यवसायीहरूले बजारमा ग्यासको अभाव नभएको दाबी गरेका छन् । मध्यपूर्वकाे द्वन्द्वपछि ग्यास आपूर्ति सहज गर्न सरकारले ७.१ किलोग्रामको आधा सिलिन्डर दिने गरेकोमा फेरि १४.२ किलोग्रामको भरी सिलिन्डर वितरण शुरू गर्दा बजारमा एकाएक माग बढेको व्यवसायीहरूको जिकिर थियो ।
मुख्य सचिव कार्कीले ग्यास अभावको दीर्घकालीन समस्या समाधानका लागि सरोकारवालासँग आउँदा दिनमा पनि छुट्टै ढङ्गले छलफल गरिराख्ने बताउनुभयो । एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले व्यवसायीहरूले पहिलेभन्दा धेरै ग्यास आयात गरिरहेको भए पनि उपभोक्ताहरूले आवश्यकभन्दा धेरै भण्डारण गर्ने गरेकाले समस्या निम्तिएको बताउनुभयो ।
विगत ६ महिनामा नियमित खपतको तुलनामा झन्डै ४५ हजार मेट्रिक टन कम ग्यास आयात भएको र त्यस अवधिभर आधा सिलिन्डर प्रयोग गरिएकाले उपभोक्तामा ग्यास अभाव हुन सक्ने मनोविज्ञान बनेको र अहिले सबैले एकैपटक भरी सिलिन्डर लिन खोज्दा बजारमा अभाव देखिएको हो, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
दशैँ तथा चाडपर्वमा हुने उच्च मागलाई मध्यनजर गर्दै आउँदाे ३ महिनासम्म मासिक ५० हजार मेट्रिक टनभन्दा धेरै एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको छ ।
बैठकमा ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिनेबारे निर्णय भएको थियो ।
सङ्घका अनुसार गएकाे अप्रिल र मे महिनामा कोटाभन्दा निकै कम ग्यास आयात भएकाले अहिले समस्या आएको हो । गएकाे अप्रिलमा ५१ हजार २८२ कोटामध्ये ३४ हजार ०८१ मेट्रिक टन ग्यास आयात भएको थियो भने मे महिनामा ४९ हजार ५०० कोटामध्ये २८ हजार ५०४ मेट्रिकटन ग्यास आयात भएको थियो ।











