काठमाण्डौ । उपत्यकामा हिजो मंगलबार यस वर्षकै सबैभन्दा उच्च गर्मी भएको छ । काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम वैशाखयताकै उच्च विन्दुमा पुगेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो उपत्यकाको अधिकतम तापक्रम ३२.३ डिग्री सेल्सियस मापन भएको छ ।
महाशाखाका मौसमविद् डेबिट ढकालका अनुसार यसअघि असार १३ मा काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३१.७ डिग्री सेल्सियससम्म पुगेको थियो । हिजोको तापक्रम त्यसभन्दा ०.६ डिग्री सेल्सियसले धेरै हो ।
काठमाण्डौमा सबैभन्दा धेरै गर्मी प्रि–मनसुन अवधिमा हुने गरे पनि यो वर्ष मनसुन अवधिमा अपेक्षाकृत कम बादल र वर्षा भएकाले तापक्रम बढेको मौसमविद् ढकालले बताउनुभएको छ । यस वर्षको प्रि–मनसुन अवधिमा जेठ ९ गते काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम ३०.७ डिग्री सेल्सियस पुगेको थियो ।
हिजोको ३२.३ डिग्री सेल्सियस तापक्रम पनि जेठ ९ को तुलनामा १.६ डिग्री सेल्सियसले धेरै रहेको छ ।
यसैबीच आज केही ठाउँमा हल्का बर्षाको सम्भावना छ । साथै गर्मी पनि बढ्ने अनुमान छ । हिजोदेखि देशका धेरै ठाउँमा पानी पर्न रोकिएसँगै गर्मी बढेको हो । काठमाण्डौ उपत्यकालगायत तराईका केही भागमा गर्मी आज पनि बढ्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद ढकालले जानकारी दिनुभयो ।
साथै आज ठूलो पानी पर्ने सम्भावना नरहे पनि भोलिदेखि पानी पर्ने क्रम केही ठाउँमा बढ्ने र बादल पनि लाग्ने भएकाले तुलनात्मक रुपमा गर्मी भने कम हुँदै जाने अनुमान छ । मनसुन केही कमजोर भई धेरैजसो ठाउँमा पानी पर्न रोकिएको छ ।











