काठमाण्डौ । आज अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको महत्वलाई दर्शाउने उद्देश्यका साथ दिवस मनाउने गरिएको छ । सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा अगस्त १२ तारिखका दिन यो दिवस मनाउने गरिएको छ ।
दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु रहेको छ । यस्तै, साझेदारी एवम् लगानी अभिवृद्धि गर्ने, युवामैत्री शासन प्रवर्द्धन गर्ने सहयोग गर्ने, युवा केन्द्रित सरकारी, गैरसरकारी, निजी संस्था/निकायहरूबीच सहकार्य र साझेदारी अभिवृद्धि गर्नु रहेको छ ।
दिवसका अवसरमा आज प्रज्ञा प्रतिष्ठान कमलादीमा विशेष समारोहको आयोजना गरिएको छ । कार्यक्रममा सूचना प्रविधि तथा स्टार्टअप व्यवसायसम्बन्धी प्रदर्शनी गरिँदैछ । यो दिवस युवा जागरणका दिशामा विश्वव्यापी र साझा अभियान हो । सांस्कृतिक, भौगोलिक, भाषिक, शारीरिक तथा प्रविधिजन्य विविधताबीच एकता र पारस्परिकता प्रवर्द्धनमा सबैलाई हातेमालो गर्दै अघि बढ्ने सङ्कल्प समेत दिवसका अवसरमा व्यक्त हुँदै आएको छ ।
दिवसका अवसरमा सूचना प्रविधि उद्यमी तथा स्टार्टअप व्यवसाय राष्ट्रिय पुरस्कारबाट विभिन्न छ वटा व्यवसायलाई पुरस्कृत गरिँदैछ । यस्तै, सातै प्रदेशका युवा उद्यमीलाई पनि पुरस्कृत गर्ने कार्यक्रम छ ।
राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवम् युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा गएको साउन १ गते बसेको बैठकले अन्तर्राष्ट्रिय युवा दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो ।
राष्ट्रिय जनगणना २०७८ अनुसार, १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या एक करोड २४ लाख १२ हजार १७३ जना अर्थात् कूल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत छ । युवा अवस्थालाई मानव जीवनमा अत्यधिक जोश, जाँगर, उत्साह अनि शक्ति भएको उमेर–समूहका रूपमा लिइन्छ ।











