ओमान नजिक जहाजमा आक्रमण : १० भारतीयको उद्धार, १ जना अझै बेपत्ता

इरान–अमेरिका तनावबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका ११ भारतीयमध्ये १० जनाको उद्धार भएको छ । आक्रमणमा परेका एक जना अझै बेपत्ता रहेका भारतको विदेश मन्त्रालयलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

मन्त्रालयको विज्ञप्तिअनुसार ‘जीएफएस ग्यालेक्सी’ नामक व्यावसायिक जहाजमाथि बिहान ओमानको तट नजिक आक्रमण भएको थियो । घटनापछि खोज तथा उद्धार अभियान चलिरहेको मन्त्रालयले जनाएको छ ।

अमेरिकी सेन्ट्रल कमान्डले जहाजमाथिको आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिका कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ ।

यो घटना अमेरिकाको पछिल्लो सैन्य कारबाहीको प्रत्युत्तर स्वरूप इरानले हर्मुज जलमार्ग बन्द गर्ने घोषणा गरेको तथा खाडी क्षेत्रका विभिन्न ठाउँतर्फ क्षेप्यास्त्र र ड्रोन आक्रमण गरिरहेका बेला भएको हो ।

भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेका आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ ।

इरान र अमेरिकाबीचको पछिल्लो तनावले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले भएको अन्तरिम समझदारीलाई थप सङ्कटमा पारेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search