गणेश नेपालीको घटनाबारे सत्यतथ्य पत्ता लगाउन सरकारले न्यायिक समिति बनायाे

काठमाण्डाै । सरकारले गणेश नेपालीको आत्मदाह घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक समिति गठन गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो । घटनाको गम्भीरतालाई हेरेर न्यायिक समिति गठन गरेको उहाँले बताउनुभयो ।

गणेश नेपालीले गएको असार २५ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि उपचारका क्रममा ज्यान गएको थियो ।

यस्तै मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र शाहले हिजाे घोषणा गरेअनुसार शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क पूर्णरूपमा छुट दिने निर्णय गरेकाे छ । त्यस्तै २०८५ साल भदौ मसान्तसम्मका लागि पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय नियमित हवाई उडानमा पार्किङ, ल्यान्डिङ तथा न्याभिगेशन शुल्क र ग्राउन्ड ह्यान्ड्लिङ शुल्कमा ५० प्रतिशत छुट दिन बैठकले स्वीकृति दिएको छ ।

साथै अनुचित लेनदेन (मिटरब्याज) पीडितसँग सरकारी समितिले २०८३ साउन १ गते गरेको सम्झौता अनुमोदन गर्दै सरकारले मिटरब्याजरसँग सम्बन्धित फर्जी लिखतहरू अवैध घोषणा गरेको छ ।

यस्तै बैठकले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत सुर्खेतका न्यायाधीश दीपेन्द्र अधिकारी र गुठी संस्थानकाे प्रशासक पदमा शैलेन्द्रराज कुँवरलाई तोक्ने निर्णय गरेको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search