काठमाण्डौ । प्रतिनिधिसभामा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का १८२ सांसद छन् । तर हिजो मंगलबार प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेर स्थगित भयो । खानीसम्बन्धी विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने कार्यसूची थियो । यो प्रस्ताव पेश गर्ने बेलामा प्रतिनिधिसभामा सांसदको गणपूरक संख्या नै पुगेन ।
नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रतिनिधिसभा बैठकमा गणपूरक संख्यामाथि प्रश्न उठाउँदै गणना गर्न आग्रह गर्नुभएको थियो । गणपूरक संख्या नपुगेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक नै स्थगित गर्नुपर्यो ।
सांसदहरू हाजिर गरेर ‘टाप’ कस्दा यस्तो अवस्था आएको हो । गएको फागुन २१ मा भएको चुनावबाट रास्वपाले झण्डै दुईतिहाइ मत प्राप्त गरेपछि प्रतिनिधिसभामा गणपूरक संख्या नपुगेको हिजो पहिलोपटक हो ।
संविधानको धारा ९४ अनुसार प्रतिनिधिसभामा गणपूरक संख्या पुग्न ६९ सदस्य उपस्थित हुनुपर्छ । हिजो ६१ सांसद मात्रै उपस्थित थिए । तर हिजो बैठकको शुरुआतमा २२० भन्दा धेरै सांसद उपस्थित थिए ।











