काठमाण्डौ । आन्तरिक राजस्व विभाग, करदाता सेवा शाखा लाजिम्पाट काठमाण्डौले गएको साउन १ देखि १५ गतेसम्म करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी भएकामध्येबाट विजेताको नाम सार्वजनिक गरेको छ ।
यो कार्यक्रमअन्तर्गत बम्पर उपभोक्ता पुरस्कारतर्फ हेमराज जोशी विजेता बन्नुभएको छ । उहाँले १० लाख रुपैयाँ पुरस्कार जित्नुभएको हो । यसैगरी एक लाख रुपैयाँ विजेता उपभोक्ता पुरस्कारतर्फ अरू १३ जनामा अनिषा फौदार खनाल, अमित राई, नरेन्द्रबहादुर विके, हिमाल अर्याल, राजकुमार लामिछाने, अर्जुनकुमार न्यौपाने, सपना न्यौपाने खरेल, सञ्जय श्रेष्ठ, मनोज सिंह, किरण सुनुवार, प्रवीण कँडेल, एकता शर्मा श्रेष्ठ र सहारा गुरुङ हुनुहुन्छ ।
विजेता उपभोक्तामध्ये दुई वटा कुपनका विषयमा थप छानबिन गर्नुपर्ने भएकाले तत्काल समावेश नगरिएको विभागले जनाएको छ । छनोट भएका विजेता उपभोक्ताका सम्बन्धमा करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि, २०८३ को दफा ९ बमोजिमको प्रक्रिया पूरा भएपछि मात्र पुरस्कार वितरण गरिने विभागले जनाएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा अर्थ मन्त्रालयमा गएको साउन २२ गते करदाता प्रोत्साहन उपहार कार्यक्रमका पहिलो चरणका विजेता कुपन घोषणा गरिएको थियो ।











