काठमाण्डाै । नेपाल, बङ्गलादेश र श्रीलङ्कामा भएका राजनीतिक उथलपुथल र सामाजिक असन्तोषको पछाडि रोजगारीको अभाव र मर्यादित कामको कमी मुख्य जिम्मेवार रहेको पाइएको छ ।अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) ले सार्वजनिक गरेको ‘ग्लोबल इम्प्लोयमेन्ट ट्रेन्ड्स फर युथ २०२६’ प्रतिवेदनले यस्तो निष्कर्ष निकालेको हो । प्रतिवेदनअनुसार सुस्त आर्थिक वृद्धि र कमजोर रोजगारी सिर्जनाका कारण विश्वभरका युवामा निराशा बढेको छ ।
नेपालजस्ता विकासशील देशमा औपचारिक रोजगारी नहुँदा १० मध्ये ९ जना युवा न्यून आय र सामाजिक सुरक्षाविहीन अनौपचारिक क्षेत्रमा जोखिमपूर्ण काम गर्न बाध्य छन् । छिमेकी देश भारतसहित विश्वका धेरै क्षेत्रमा शैक्षिक योग्यता बढे पनि त्यहीअनुसारको काम नपाउँदा शैक्षिक बेरोजगारी झनै चुलिएको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२५ मा विश्वव्यापी युवा बेरोजगारी दर १२.४ प्रतिशत पुगेको छ, याे ६ करोड ७० लाख जनसङ्ख्या बराबर हो । यस्तै केन्यामा भएका ’जेन–जी’ प्रदर्शनदेखि दक्षिण एशियाली देशहरूमा राजनीतिक फेरबदल हुनुमा रोजगारीको अभाव, भ्रष्टाचार र युवाको अपेक्षा पूरा हुन नसक्नु मुख्य कारण रहेको आईएलओको ठहर छ ।
पछिल्लो समय कृत्रिम बुद्धिमत्ता (एआई) का कारण मध्यम सीप आवश्यक पर्ने कार्यालय र प्रशासनिक कामहरू घट्दै जाँदा युवाहरूलाई रोजगारीमा प्रवेश पाउन कठिन बनेको छ ।
आईएलओका महानिर्देशक गिल्बर्ट एफ हौङवोले युवाहरू गुणस्तरीय रोजगारीबाट वञ्चित भएमा देशले प्रतिभा र सामाजिक एकता गुमाउने भन्दै युवाका लागि सम्मानजनक रोजगारी सिर्जना गर्नु नै देशको स्थायित्वका लागि सबैभन्दा बुद्धिमानी लगानी हुने बताउनुभएको छ ।











