रेशम चौधरी पक्राउबारे गृहमन्त्री लेखकले जवाफ दिने

काठमाण्डौ । सभामुख देवराज घिमिरेले संसद्‍मा विभिन्न समयमा उठेका विषयमा जवाफ दिन सरकारलाई रुलिङ गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा जनमत पार्टीका सांसदहरूले पार्टीका संरक्षक रेशम चौधरीलाई विना कारण पक्राउ गरी कारागार चलान गरिएको विषयमा सरकारको जवाफ माग गर्दै उभिएर विरोध गरेपछि सभामुखले रुलिङ गर्नुभएको हो ।

आजको बैठकको आकस्मिक समयमा सांसद रञ्जीता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई पक्राउ गरिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गर्नुभयो । त्यस्तै जनमत पार्टीका सांसद अब्दुल खानले संरक्षक चौधरी पक्राउ सम्बन्धमा सरकारले स्पष्ट जवाफ नदिएसम्म सदनको कामकारबाही अघि बढ्न नसक्ने बताउनुभयो ।

सभामुख घिमिरेले पर्सि बिहीवारको बैठकमा गृहमन्त्री रमेश लेखकले रेशम चौधरीको विषयमा सदनमा उपस्थित भएर जवाफ दिने जानकारी दिँदै सदनको कामकारबाही अघि बढाउन आग्रह गर्नुभयो । चौधरी पक्राउका सम्बन्धमा गृहमन्त्री लेखकले जवाफ दिने सभामुख घिमिरेको जानकारीपछि आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गरेको हो ।

गएको १७ गते नागरिक उन्मुक्ति पार्टी (नाउपा) र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा प्रतिष्ठान भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ पर्नुभएको थियो । तर सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको पाइएपछि उहाँ ५ घण्टा डिल्लीबजार कारागार बसेर छुट्नुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पाकिस्तानी आर्मीको डेलिगेशन नेपाल आएको दाबी गर्नुभएको छ । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उहाँले अस्ति मे ४ तारिखमा ११ जना पाकिस्तानी आर्मीको डेलिगेशन सरकारले बोलाएको आरोप लगाउनुभयो ।

पाकिस्तानी आर्मीको डेलिगेशन बोलाएर के सन्देश दिन खोजेको हो भन्ने सांसद सिंहको टिप्पणी छ । जम्मू–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि अहिले भारत र पाकिस्तानको बीचमा तनाव बढेको छ ।

यसैबीच यही वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०८२/८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि दलीय आधारमा छलफल प्रारम्भ भएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search