रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया को औषधि नेपाल आइपुग्यो

काठमाण्डौ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई दिन लागिएको निःशुल्क औषधि नेपाल आइपुगेको छ । समस्या परेका नागरिकलाई निःशुल्क औषधि उपलब्ध गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व हेमोफिलिया महासङ्घबीच गएको फागुन ४ गते सम्झौता भएको थियो ।

सम्झौतानुसारको औषधि स्वास्थ्य सेवा विभागमा आइपुगेको र अब वितरणका लागि आवश्यक प्रक्रिया शुरू हुने व्यवस्थापन महाशाखा प्रमुख डा। पवनजङ्ग रायमाझीले जानकारी दिनुभयो । पाँच प्रकारको औषधि नेपाल आएको र आवश्यकतानुसार वितरण सूची तयार गरी अस्पतालमा पठाइने उहाँले जानकारी दिनुभयो ।

मन्त्रालयले काठमाण्डौको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल तथा निजामती कर्मचारी (सिभिल) अस्पतालमार्फत औषधि वितरण गर्ने भएको छ । यसका साथै सात वटै प्रदेशका अन्य थप १० वटा प्रादेशिक अस्पतालमा औषधि पुग्ने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

गएको माघ १० गते सरकारी अस्पतालमार्फत हेमोफिलिया रोगका बिरामीलाई सुविधा उपलब्ध गराउने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निर्णय गर्नुभएको थियो । औषधि निकै महँगो पर्ने भएकाले रोगको उपचारका लागि बिरामी तथा अन्य सरोकारवालाले सरकारलाई व्यवस्थापन गरिदिन आग्रह गर्दै आएका थिए ।

२०७८ को जनगणनामा २ दशमलव २ प्रतिशतमा अपाङ्गता देखिएकामध्ये शून्य दशमलव आठ प्रतिशतमा हेमोफिलिया भएको हुनसक्ने अनुमान गरिएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search