काठमाण्डौ । न्यु डायमन्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगको महिलातर्फ फाइनलमा पुगेका छन् ।
पोखरा रङ्गशालाको कभर्ड हलमा आज भएको खेलमा न्यु डायमन्डले नेपाल एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हरायो । न्यु डायमन्डको जीतले पुलिस पनि फाइनलमा पुगेको छ । योसँगै न्यु डायमन्ड र पुलिस यस पटकको काभा क्लब भलिबल च्याम्पियनशिपका लागि छनोट भएका छन् ।
प्रतियोगितामा लगातार चौथो जीत हात पारेको न्यु डायमन्ड १२ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । पुलिस ११ अङ्कसहित दोस्रो स्थानमा छ ।
यसअघि आजै प्रतियोगिताको महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै सान्त्वना जीत हात पारेको थियो । यी दुवै टोली लिग चरणबाट बाहिरिइसकेका छन् ।
यस्तै प्रतियोगिताको पुरुषतर्फ आज पनि ४ वटा खेल हुँदैछन् । नेपाल भलिबल सङ्घको आयोजनामा पर्सिसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ ।
अङ्क तालिकाको शीर्ष २ मा रहने टोलीले फाइनल खेल्नेछन् । यस्तै तेस्रो र चौथो स्थानमा रहने टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिग खेल्नेछन् ।