मकालु गाउँसभाबाट ६१ करोड बढी बजेट विनियोजन

मकालु । मकालु गाउँपालिकाको आर्थिक वर्ष २०८३/८४ को बजेट, वार्षिक निति तथा कार्यक्रम सम्बन्धि १३ औँ गाउँसभा बुधबार सम्पन्न भएको छ । आर्थिक वर्ष २०८३/८४ को लागी गाउँपालिकाको समग्र विकास, पुर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, खानेपानी तथा रोजगार प्रर्वद्धनलाई प्राथमिकतामा राखेर ६१ करोड, ७३ लाख ८८ हजार बजेट विनियोजन गरिएको छ ।

गाउँसभामा गाउँपालिका अध्यक्ष ओङ्दी छिरिङ शेर्पाले आर्थिक वर्ष २०८३/८४ को निति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो भने गाउँपालिका उपाध्यक्ष मनकला राईले विनियोजन विधेयक प्रस्तुत गर्नु भएको थियो । यस्तै आर्थिक संयोजक बद्री बहादुर राईले आर्थिक विधेयक प्रस्तुत गर्नु भएको थियो ।

सभाको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने ४ जना कर्मचारी नगदसहित सम्मानित भएका छन् । मकालु गाउँपालिकाको बेरुजु फर्च्यौट गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै लेखा प्रमुख अरविन्द कुमार झालाई एक लाख नगद र सम्मान पत्रले सम्मान गरिएको हो । यस्तै सब इन्जिनियर गायत्री घिमिरे र नवीन गुरुङलाई नगद ९० हजार र सम्मान पत्रद्धारा सम्मान गरिएको हो । यसैगरी स्वास्थ्य शाखा प्रमुख छिङदोर्जी लामालाई संखुवासभाका स्वास्थ्य शाखाहरुको गत आर्थिक वर्ष २०८१/८२ मा गरिएको वार्षिक मुल्यांकनमा जिल्ला प्रथम भएको र शाखागत वेरुजुमा शुन्य बनाउन सफल भएकोमा नगद एक लाख र सम्मान पत्रले सम्मानित गरिएको हो ।

स्थानीय तह सञ्चालन भए यता मकालु गाउँपालिकाको वेरुजु रकम बढी देखिएपनि हालै सार्वजनिक गरिएको महालेखा परिक्षकको अन्तिम प्रतिवेदन अनुसार संखुवासभाको कम वेरुजु रहेको स्थानीय तह हो मकालु । सम्पन्न १३ औं गाउँसभाबाट आगामी आर्थिक वर्षमा ५ करोड बढी वेरुजु फर्च्यौट गर्न सभाबाट सर्वसम्मत पारित भएको छ ।
यसै अवसरमा मकालु गाउँपालिकालाई पुर्ण खोप पालिका घोषणा गरिएको छ । गाउँपालिका भित्रका सबै बालबालिकाले पाउनु पर्ने खोप लगाइ सकिएकोले पूर्ण खोप पालिका घोषणा गरिएको हो ।

मकालु गाउँपालिकाको अध्यक्ष ओङ्दी छिरिङ शेर्पा, उपाध्यक्ष मनकला राई, प्रमुख प्रशासकीय अधिकृत इन्द्र बहादुर दर्जी, १ देखि ६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु तथा वडा सदस्यहरु, सबै वडा तथा शाखाका कर्मचारीहरुको उपस्थितिमा सभा सम्पन्न भएको हो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search