मकालु गाउँपालिका वडा नं. ५ खोकताकमा महिलाहरुका लागि ७ दिने कुखरा पालन सम्बन्धि तालिम सञ्चालन भईरहेको छ । मकालु गाउँपालिकाको आयोजना तथा एड्भान्स इन्जिनियरिङ एण्ड ट्रेनिङ सेन्टर काठमाडौँको सहजीकरणमा तालिम सञ्चालन भएको हो । तालिममा खोकताकमा रहेको लक्ष्मी कृषि आमा समूह र अरुणथान महिला विकास स्वास्थ्य आमा समूहमा आबद्ध २५ जनालाई तालिम दिइएको प्रशिक्षक लाख कुमार राईले जानकारी दिनुभयो ।
तालिममा व्यवसायीक रुपमा कुुखुरा पालन गर्ने तरिका, कुखुरा पालन गर्दा आउने समस्याहरु र त्यसका समाधान, कुखुरामा लाग्ने रोगहरुको निराकरण कसरी गर्ने भन्ने आधारभूत ज्ञान सीप सिकाइ रहेको प्रशिक्षक राईले बताउनु भयो । खोकताकबासीले हालसम्म लोकल कुखुरा र गिरिराज कुखुरा मात्रै पाल्दै आएको र व्यवसायीक रुपमा कुखुरा पालन नगरेको कारण व्यवसायीक रुपमा कसरी पालन गर्ने भन्ने कुराको जानकारी गराइने छ ।
त्यस्तैगरि ब्रोेइलर खुकुरा व्यवसायीक रुपमा पालन गर्न सक्ने सम्भाव्यता के छ, त्यस सम्बन्धि छलफल, अध्ययन, कुखुरामा लाग्ने रोग त्यसको न्युनीकरण लगायत सम्बन्धी तालिम दिइएको प्रशिक्षक राईले जानकारी दिनुभयो । तालिम जेठ २७ गतेबाट सुरु भएर असार २ गते सम्पन्न हुनेछ ।











