आज विश्व शरणार्थी दिवस : विश्वभर झन्डै पौने १२ करोड मानिस विस्थापित

काठमाण्डौ । आज विश्व शरणार्थी दिवस । विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । द्वन्द्व, हिंसा र उत्पीडनका कारण घरबार छाड्न बाध्य भएका शरणार्थीप्रति सम्मान व्यक्त गर्न हरेक वर्ष जुन २० मा यो दिवस मनाइन्छ ।

शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय युएनएचसीआरका अनुसार सन् २०२५ को मध्यसम्म विश्वभर ११ करोड ७३ लाखभन्दा बढी मानिस विस्थापित भइसकेका छन् । सुडान, युक्रेन, अफगानिस्तान, सिरिया, म्यान्मार र कङ्गोलगायत देशमा चलिरहेको सङ्कटले लाखौँलाई घरबार छाड्न बाध्य बनाएको छ ।

राष्ट्रसङ्घका अनुसार शरणार्थीको संरक्षण मानवीय विषय मात्र नभई विश्व शान्ति र स्थायित्वको पनि आधार हो । संरक्षण नपाउँदा परिवार थप जोखिमपूर्ण यात्रामा धकेलिने र बालबालिकाको शिक्षा प्रभावित हुने जनाइएको छ ।

सन् १९५१ को शरणार्थी महासन्धि र सन् १९६७ को प्रोटोकल शरणार्थी अधिकार संरक्षणको प्रमुख कानूनी आधार हुन् । यसले शरणार्थीलाई काम, शिक्षा, आवास र पहिचान कागजातको अधिकार सुनिश्चित गर्दछ । राष्ट्रसङ्घले विश्वभरका सरकार, दातृ निकाय र समुदायलाई शरणार्थीको सुरक्षा र अधिकार संरक्षणमा साझा प्रतिबद्धता जनाउन आह्वान गरेको छ ।

यसैबीच महासचिव एन्टोनियो गुटेरेसले शरणार्थी र तिनलाई आश्रय दिने देशलाई थप समर्थन आवश्यक रहेको र सन् १९५१ को महासन्धिको ७५ वर्ष पूरा हुँदा सुरक्षा र संरक्षणको प्रतिज्ञा अझै सान्दर्भिक रहेको सन्देशमा उल्लेख गर्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search