काठमाण्डौ । चिया उत्पादकहरुले नेपालको चिया भू-राजनीतिमा परेको शङ्का गरेका छन् । यस अघि पनि पटक–पटक नेपालको चिया निकासीमा भारतले अबरोध गर्ने गरेको थियो । त्यसबेलाका सरकारले भारतको उच्च तहमा कुरा गरेर समस्या लम्बिन दिँदैन थिए । तर यस पटक भारतले लगाएको नयाँ नियमका कारण झन्डै डेढ महिनादेखि निकासी ठप्प भएको छ ।
असार १ गतेदेखि उद्योग र बगान बन्द हुँदा पनि समाधानको काम भएको छैन । चिया निकासी खुलाउन के प्रयास भइरहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाउँदा नेपालको चिया भू–राजनीतिमा परेको शङ्का हुन थालेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुली बताउनुहुन्छ ।
उहाँका अनुसार अहिलेको अवरोध अघोषित नाकाबन्दी हो । यदि यस विषयमा सरकार–सरकार तहमा कुरा गरेर समाधान नगरिए भविष्यमा अलैँची, प्लाईवूडजस्ता क्षेत्रमा पनि समस्या आउने उहाँको भनाइ छ । उहाँका अनुसार भारत र नेपाल एउटै भौगोलिक क्षेत्रमा पर्ने हुँदा यहाँको चिया भारतमा उच्च जोखिमयुक्त वर्गमा पर्दैन । तर अहिले भारतले उच्च जोखिमका रूपमा व्यवहार गरिरहेको छ ।
नेपालमा वार्षिक २ करोड ६५ लाख किलो चिया उत्पादन हुने गरेको छ । जसमध्ये झन्डै २ करोड किलो तराईमा र ६५ लाख किलो पहाडी भेगमा उत्पादन हुने गरेको छ ।
चिया उत्पादकहरूका अनुसार नेपालले भारतमा वार्षिक कम्तीमा ४ अर्ब रुपैयाँ बराबरको चिया निर्यात गर्दै आएको छ । नेपालमा एक लाख श्रमशक्ति प्रत्यक्ष रूपमा चिया उद्योगसँग जोडिएका छन् । इलामका उद्योग असार १ गतेदेखि र झापाका उद्योग असार ४ गतेदेखि बन्द भएका छन् ।











