काठमाण्डौ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कक्षा १२ को नतिजा चाँडो प्रकाशन गर्दा परीक्षणमा कुनै कमजोरी नभएको दाबी गर्नुभएको छ । नतिजासँग जोडिएर उठेका प्रश्नहरूको जवाफमा सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिँदै मन्त्री पोखरेलले विगतमा अपनाइँदै आएको कुनै पनि आवश्यक प्रक्रिया नहटाइएको बताउनुभएको छ ।
मन्त्री पोखरेलका अनुसार विगतमा उत्तरपुस्तिका परीक्षणपछि समपरीक्षणका लागि सबै सामग्री काठमाण्डौ ल्याउनुपर्ने व्यवस्था थियो भने यस वर्ष समपरीक्षण सम्बन्धित ठाउँमै गर्ने व्यवस्था मिलाइएको थियो । उत्तरपुस्तिका अनावश्यक रूपमा लामो समय रोकिराख्ने प्रवृत्तिमा नियन्त्रण गरी परीक्षण प्रक्रिया समयमै शुरू गरिएकोले यसलाई हतारमा गरिएको परीक्षण भन्न नमिल्ने उहाँको भनाइ छ ।
परीक्षण कार्यलाई प्रभावकारी बनाउन विगतभन्दा बढी जनशक्ति परिचालन गरिएको र अनावश्यक प्रशासनिक तथा प्रक्रियागत ढिलासुस्ती हुन नदिइएको मन्त्री पोखरेलले उल्लेख गर्नुभएको छ । साथै, परीक्षा दस्तुर वृद्धि वर्तमान सरकारले गरेको निर्णय नभई गएको वर्षको पूरक परीक्षादेखि नै लागू भइसकेको र यस सम्बन्धमा सरकारले कुनै नयाँ निर्णय नगरेको पनि उहाँले स्पष्ट पार्नुभएको छ ।
मन्त्री पोखरेलले यस वर्षको नतिजालाई असामान्य रूपमा छिटो भन्नुभन्दा विगतमा अनावश्यक रूपमा ढिलो आउने गरेको अवस्था सुधारिएको रूपमा बुझ्नुपर्ने बताउनुभएको छ । गएको वर्षको तुलनामा यस वर्ष उत्तीर्ण प्रतिशत झन्डै आठ प्रतिशतले वृद्धि भएको तथ्य पनि उहाँले स्मरण गराउनुभएको छ ।
गएको वैशाख १४ गतेदेखि शुरू भएको कक्षा १२ को परीक्षाको नतिजा हिजो सार्वजनिक भएको हो । परीक्षामा ६४.१३ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए ।











