काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान र संघिय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षा गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुभएको छ । आज चिवतनमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा उहाँले लोकतान्त्रिक मूल्य–मान्यताप्रति सधैं प्रतिवद्ध रहने बताउनुभएको हो ।
उहाँले देशमा आएको परिवर्तन र उपलब्धिहरू विगतका संघर्ष तथा बलिदानकै जगमा सम्भव भएको उल्लेख गर्नुभयो । संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान र परिवर्तनका उपलब्धिहरूको सम्मानको आधारमा उभिनुमा आफूलाई गर्व लागेको उहाँको भनाइ छ ।
सभापति लामिछाने विगतका त्याग र बलिदानकै कारण आज देशलाई फराकिलो दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र यसको मूल्यमान्यताबाट आफू तथा पार्टी कहिल्यै विचलित नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीको आन्तरिक लोकतन्त्रलाई पनि मजबुद बनाउने बताउनुभयो ।
पार्टी स्थापनाका समयमा केन्द्रीय समितिमा राख्ने मानिस नपाएको स्मरण गर्दै उहाँले अहिले केन्द्रीय समितिमा सबैभन्दा बढी आंकाक्षी देखिएको बताउनुभयो । उहाँले महाधिवशेनमा स्वच्छ प्रतिस्पर्धा गर्न पनि आग्रह गर्नुभयो । पार्टीमा विगतमा भएका गल्ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्ने सभापति लामिछानेको भनाइ छ ।











