विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दै

काठमाण्डौ । विश्वकप फुटबलमा आजराति नेदरल्यान्डस् र स्वीडेन खेल्दैछन् । खेल नेपाली समयअनुसार पौने ११ बजे ह्युस्टनमा हुनेछ । नेदरल्यान्डस्ले आफ्नो पहिलो खेलमा जापानसँग बराबरी खेलेको थियो भने स्वीडेनले ट्युनिसियालाई हराएको थियो ।

आजको खेल जितेमा स्विडेन नकआउट चरणमा पुग्नेछ । स्विडेनले यसपटक अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको छ । यस्तै आज मध्यराति समूह ‘ई’का जर्मनी र आइभरीकोस्ट खेल्दैछन् । यो खेल नेपाली समयअनुसार राति पौने २ बजे शुरू हुनेछ ।

जर्मनीले आफ्नो पहिलो खेलमा विश्वकपमा पहिलो पटक सहभागी भएको कुराकाओलाई ७–१ ले पराजित गरेको थियो । यस्तै आइभरी कोस्टले इक्वेडरलाई हराएको थियो ।

भोलि बिहान पौने ६ बजे समूह ‘ई’कै इक्वेडर र कुराकाओ खेल्दैछन् । यसैगरी भोलि बिहान पौने १० बजे ट्युनिसिया र जापान खेल्दैछन् ।

विश्वकप फुटबलमा आज बिहान भएका खेलमा ब्राजिलले हैटीलाई ३ गोलले हराउँदै समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । बिहानै भएको खेलमा अमेरिकाले अस्ट्रेलियालाई २ गोलले हराउँदै नकआउट चरणमा पुगेको छ । यसैगरी अन्य खेलमा मोरक्कोले स्कटल्यान्डलाई १ गोलले र पाराग्वेले टर्कीएलाई एक गोलले हराएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search