शेयर बजार घट्दा पनि नाफा हुने ‘शर्ट सेलिङ’ प्रणाली लागू गर्ने तयारी

काठमाण्डाै । नेपाल धितोपत्र बोर्डले ‘शर्ट सेलिङ’ प्रणाली कार्यान्वयनको तयारी गरेको छ । अर्थ समितिकाे आजकाे बैठकमा बोर्डका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बजार बढ्दा मात्र नभई घट्दा पनि लगानीकर्ताले प्रतिफल लिनसक्ने व्यवस्था ल्याउन ‘शर्ट सेलिङ’ प्रणाली लागू गर्न लागेको जानकारी गराउनुभएको हो ।

नेपालमा शेयर बजार सधैँ बढिरहनुपर्ने मान्यता रहेको भन्दै उहाँले कुनै पनि देशको पूँजीबजार निरन्तर उकालो मात्रै लाग्न नसक्ने बताउनुभयो । बजार घट्दा धितोपत्र बोर्डमाथि अनावश्यक दबाव दिने गरिएको उहाँको गुनासो छ ।

बोर्डको भूमिका बजारको दिशा निर्धारण गर्नु नभई निष्पक्ष ‘प्लेइङ फिल्ड’ उपलब्ध गराउनु मात्रै रहेको भन्दै भट्टले ‘शर्ट सेलिङ’ प्रणाली लागू गरेपछि बजार घट्दा आन्दोलनमा उत्रिने अहिलेको समस्याको अन्त्य हुने बताउनुभयो ।

यो प्रणाली लागू भएपछि बजार घट्ने अनुमान गर्ने लगानीकर्ताले शेयर सापटी लिएर बिक्री गर्न सक्नेछन् । मूल्य घटेपछि त्यही शेयर किनेर फिर्ता गर्दा मूल्य अन्तरबाट प्रतिफल लिन सकिनेछ । बजार बढ्ने अपेक्षा गर्ने लगानीकर्ताले भने अहिले झैँ शेयर किनेर मूल्य बढेपछि बिक्री गरी नाफा लिन सक्नेछन् ।

अध्यक्ष भट्टले नेपालको पूँजीबजार सुधारका लागि बोर्डले ‘नेपालको पूँजीबजार विकास मार्गचित्र २०८३’ सार्वजनिक गरेको जानकारी दिँदै अब शेयर बजारका समस्या समाधान दाबी गर्नुभयो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search