काठमाण्डाै। किसानहरूले माइतीघर मण्डलाकाे सडकमा गोलभेँडा फ्याँकेर विरोध प्रदर्शन गरेका छन् । स्थानीय गोलभेँडाको मूल्यमा आएको अत्यधिक गिरावटविरुद्ध काठमाण्डाै उपत्यका र आसपासका जिल्लाका किसानहरूले सडक आन्दोलन गरेका हुन् ।
भारतबाट सस्तो मूल्यमा भित्रिएको ठूलो परिमाणको गोलभेँडाका कारण स्वदेशी उत्पादनले बजार नपाएको र लागत मूल्यसमेत नउठेको किसानहरूको गुनासो छ ।
कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार आज सानो लोकल गोलभेँडाको न्यूनतम थोक मूल्य प्रतिकिलो जम्मा ८ रुपैयाँ र अधिकतम १२ रुपैयाँ मात्र रहेको छ । उपभोक्ताले भने खुद्रा बजारमा महँगो मूल्य तिरिरहेका छन् ।
नुवाकोटका किसान नेता श्रीराम घिमिरेका अनुसार सरकारको स्वदेशी कृषि प्रवद्र्धनको नारा व्यवहारमा लागू नहुँदा वास्तविक किसानहरू पेशा छाड्ने अवस्थामा पुगेका छन् । कुनै संगठित ब्यानर नभएको आन्दोलनमा विभिन्न जिल्लाका पीडित किसानहरूको सहभागिता रहेको छ ।











