काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आज काठमाण्डौमा राष्ट्रिय भेलाको आयोजना गरेको छ । पार्टीभित्रको पछिल्लो राजनीतिक परिस्थिति, आन्तरिक विवाद, संगठनात्मक अवस्था तथा कांग्रेसको आगामी राजनीतिक दिशाबारे छलफल गर्ने उद्देश्यले आयोजना गरिएको भेलालाई पूर्वसभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
सुकेधाराको मिराकल पार्टी प्यालेसमा केहीबेरमा शुरु हुने भेलामा देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुँदै हुनुहुन्छ । यो भेला कांग्रेसभित्र पछिल्लो समय देखिएको विभाजन, असहमति र नेतृत्वबीचको दूरीका बीच आयोजना हुन लागेकाले राजनीतिक रूपमा निकै चासोका साथ हेरिएको छ ।
विशेषगरी संस्थापन इतर समूहले पूर्वसभापति देउवालाई नै प्रमुख अतिथि बनाएर कार्यक्रम आयोजना गर्नुले कांग्रेसभित्र संवाद, सहमति र पुनःएकताको सम्भावनाबारे पनि विभिन्न कोणबाट चर्चा शुरु भएको छ । देउवा लामो समयको स्वास्थ्य उपचारपछि हिजो मात्रै स्वदेश फर्कनु भएको हो ।











