पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा कांग्रेसका उपसभापति शर्माको जोड

काठमाण्डौ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेकोमा जोड दिनुभएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै उहाँले पार्टीलाई बलियो बनाउन संस्थागत एकता र निष्ठा आवश्यक रहेको बताउनुभयो । उपसभापति शर्माले पार्टीको आन्तरिक सुदृढीकरण नै देशको अहिलेको आवश्यकता भएको उल्लेख गर्नुभएको छ ।

पार्टीभित्र देखिएका कतिपय प्रतिकूलता र भिन्न मतकाबीच पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्नेमा उहाँको जोड छ । शर्माले विशेष महाधिवेशनबाट व्यक्त भएको कार्यकर्ताको भावना र दृढताकै जगमा आउँदा दिनमा पार्टी अझ बलियो भएर जाने विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका नेता–कार्यकर्तामा रहने व्यक्तिगत सम्बन्ध र निष्ठाको सम्मान गर्दै शर्माले व्यक्तिभन्दा संस्था र सिद्धान्तप्रतिको निष्ठा माथि हुने बताउनुभयो । गएको वैशाख ४ गते सर्वोच्च अदालतको डिभिजन बेन्चले निर्वाचन आयोगको अद्यावधिकलाई सदर गर्दै रिट खारेज गरेपछिको परिस्थितिबारे चर्चा गर्दै शर्माले यसलाई कसैको जित वा हारको रूपमा हेर्न नहुने बताउनु भयो ।

उहाँले अदालतको फैसला आएको ४८ घण्टाभित्रै नेतृत्वले संवादको प्रक्रिया अगाडि बढाएको जानकारी दिनुभयो । उपसभापति शर्माले विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व अर्थात् गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले सबल राष्ट्रिय शक्तिको भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताउनुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search