काठमाण्डौ । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको छ । श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले हिजो सर्वोच्च अदालतमा रिट दर्ता गर्दै उहाँलाई बिनाआधार र कारण पक्राउ गरिएकाले तत्काल थुनामुक्त गर्न माग गर्नुभएको हो ।
वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा पक्राउ परेका श्रेष्ठलाई जिल्ला अदालत काठमाण्डौले तीन दिन म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले जनआस्था डटकममा प्रकाशित सामग्रीलाई लिएर परेको जाहेरीका आधारमा काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर श्रेष्ठलाई अस्ति ललितपुरमा रहेको उहाँकै निवासबाट पक्राउ गरेको थियो ।
प्रहरीले जनआस्था साप्ताहिक तथा जनआस्था डटकमको ललितपुर झम्सीखेलमा रहेको कार्यालयमा छापा मारेर कम्प्युटरलगायत केही कागजातसमेत नियन्त्रणमा लिएको थियो । श्रेष्ठको पक्राउप्रति पत्रकार तथा सञ्चारसम्बद्ध संघसंस्थाले विरोध जनाएका छन् ।
समाचारको विषयमा असहमति भए प्रेस काउन्सिल वा प्रचलित कानुनी प्रक्रियामार्फत समाधान खोजिनुपर्नेमा पत्रकारलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको भन्दै तत्काल रिहाइको माग गरिएको छ ।











