अमेरिका र इरानबीचको युद्धविरामको प्रमुख मध्यस्थकर्ता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफ आज कतार पुग्नुभएको छ । अमेरिका र इरानबीच दोस्रो चरणको शान्ति वार्ताका लागि वातावरण बनाउन उहाँले हिजो साउदी अरबका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गर्नुभएको थियो ।
साउदी अरबको भ्रमणपछि पाकिस्तानी प्रधानमन्त्री शरिफको प्रतिनिधिमण्डल कतारको दोहा पुगेको र उहाँले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेट्ने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय समचार संस्था एएफपीले जनाएको छ ।
क्षेत्रीय र विश्वव्यापी शान्तिका लागि पाकिस्तानले गरिरहेको प्रयासबारे दुई नेताबीच छलफल हुने पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । पाकिस्तानी प्रधानमन्त्रीले मध्यपूर्वको भ्रमण गरेपछि टर्किए जाने कार्यक्रम तय भएको छ ।
यसैबीच मध्यपूर्वमा चलिरहेको इरान र अमेरिका–इजरायबीचको युद्ध अन्त्य गर्ने सम्झौताको आशा बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको खबरमा उल्लेख छ । यद्दपि आणविक हतियारको मुद्दामा सहमति जुट्न नसकेको इरानी अधिकारीहरूले बताएका छन् ।
यस्तै लेबनानमा युद्धविराम पनि छलफलमा रहने पाकिस्तानले भनेको छ । इजरायलले लेबनानमा इरान समर्थित लडाकू समूह हिजबुल्लाहविरुद्ध आक्रमण गरिरहेको छ ।
गएको सप्ताहन्तमा पाकिस्तानको इस्लामावादमा अमेरिकी र इरानी प्रतिनिधिमण्डलबीच भएको उच्चस्तरीय वार्ताबाट कुनै सम्झौता हुन सकेको थिएन । अप्रिल ७ मा दुई हप्ताको युद्धविराम शुरू भएपछि मध्यपूर्वमा युद्ध स्थायी रूपमा अन्त्य गर्ने सम्बन्धमा पाकिस्तानमा भएको वार्ताले तत्काल कुनै सहमत गर्न विफल भएको थियो ।











