काठमाण्डौ । मुस्ताङबाट भित्रिएका विद्युतीय गाडी नियमसंगत भएको र रसुवाका भित्रिएका गाडीको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको भन्सार विभागले जनाएको छ ।
विभागले निकालेको विज्ञप्ति अनुसार मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय गाडी नियमसंगत भित्रिएको प्रतिवेदन दिएको छ । ती गाडी गएको जेठ १४ गते नेपाल प्रवेश गरेको थियो ।
अनुगमन टोलीले आधिकारिक अभिलेख तथा सिसीटीभी फुटेजको विस्तृत अध्ययन एवं विश्लेषण गर्दा ती गाडी जेठ १४ गतेभित्रै नेपाल प्रवेश गरिसकेको र त्यो मितिसम्म भन्सार कार्यालयबाट नियमानुसार जाँचपास भइसकेको निष्कर्ष निकालेको विभागले जनाएको छ ।
त्यस्तै रसुवा भन्सार कार्यालयबाट विद्युतीय गाडीको भन्सार जाँचपास गर्ने क्रममा कर्मचारीबाट पर्याप्त सावधानी तथा पदीय जिम्मेवारी पूरा गरेको नदेखिएको अनुगमन टोलीले जनाएको छ ।
टोलीले प्रज्ञापनपत्र कार्यालयको अभिलेखलगायतका विषयमा स्थलगत अध्ययन गर्दा कतिपय गाडी भन्सारमा भौतिक रूपमा आइ नपुग्दै कागजातका आधारमा मात्र जाँचपास गरिएको कैफियत फेला पारेको छ ।
अर्थ मन्त्रालय र भन्सार विभागले रसुवा भन्सार कार्यालयका कार्यमा संलग्न तत्कालीन कार्यालय प्रमुखसहित १३ जना कर्मचारीलाई तत्काल निलम्बन गरी विभागीय कारबाहीको प्रक्रिया अघि बढाइएको थियो ।
भन्सार विभागले लक्ष्मी इमोविलिटी प्रालि काठमाण्डौ, साइमेक्स इन्क लिमिटेड, काठमाण्डौ, सिजी मोटर्स प्रालि ललितपुर, पूजा इन्टरनेसनल प्रालि काठमाण्डौ र एजेन्ट नम्बर ८३३ र एजेन्ट नम्बर ४७८ लगायतका भन्सार जाँचपास प्रतिनिधिहरूलाई प्रचलित भन्सार कानुनबमोजिम कारबाहीका लागि रसुवा भन्सार कार्यालयमा लेखी पठाइएको जनाएको छ ।











