संखुवासभाको मकालु गाउँपालिका वडा नं. ५ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार सम्पन्न भएको हो । कार्यक्रममा वडा नं. ५ को सभाहलमा वडाले आर्थिक वर्ष भरि सम्पादन गरेको विकास निमार्ण, सेवा प्रवाह, राजस्व संकलन, उपलब्धि, समस्या तथा आगामी बर्षका प्राथमिकता बारे जानकारी गराइएको हो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा मकालु गाउँपालिका वडा नं. ५ का वडा सचिव भेषराज घिमिरेले आर्थिक वर्ष २०८२ आउन १ गते देखि २०८३ जेठ मसान्तसम्मको राजस्व विवरण सार्वजनिक गरेका थिए । घिमिरेले प्रस्तुत गरेको विवरणमा नाता प्रमाणित दस्तुरबाट ३० हजार २ सय ५०, सम्पति करबाट २३ हजार ७ सय ९२ रुपैयाँ १६ पैसा, भुमिकर मालपोतबाट १ लाख ७१ हजार ५ सय ५० रुपैँया २५ पैसा, घर बहाल करबाट १ लाख ९२ हजार ७ सय २ रुपैँया, सिफारिस दस्तुरबाट ३ लाख ८८ हजार, ९ सय ४९ रुपैँया, व्यवसाय दर्ता दस्तरबाट ५ सय रुपैँया, व्यक्तिगत घटना दर्ता दस्तुरबाट ५३ हजार ८ सय रुपैँया, अन्य राजस्व ५ सय, अन्य दस्तुर ६४ हजार ४ सय २४ रुपैँया गरि जम्मा ९ लाख २६ हजार ४ सय ६८ रुपैँया २१ पैसा राजस्व संकलन भएको हो ।

त्यस्तै वडा सचिव घिमिरेले वडाले चालु आर्थिक वर्षका प्रमुख उपलब्धिहरु समेत सार्वजनिक गर्नुभएको थियो । सार्वजनिक सुनुवाई कार्यक्रममा मकालु ५ का स्थानीय नागरिकले गुनासो तथा सुझाव राखेका थिए । उक्त गुनासो तथा प्रश्नको उत्तर मकालु ५ का वडा सचिव घिमिरे तथा वडा अध्यक्ष योगराज राईले दिनु भएको थियो ।
कार्यक्रममा वडा अध्यक्ष राई, वडा सदस्यहरु कुशुम तामाङ, सिता सेति सुरुवाल, सुर्दशन थापा मगर, सविन मगर, स्थानीय नागरिक, नागरिक अगुवा, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।











