काठमाण्डौ । बागमती प्रदेश सरकारले समस्याग्रस्त सहकारीबाट बचत फिर्ता प्रक्रियालाई थप व्यवस्थित बनाउन पर्सि साउन १ गतेदेखि अनलाइनमार्फत उजुरी दर्ता गर्ने व्यवस्था लागू गर्ने भएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त सहकारीलाई पुनः सञ्चालनमा आउने वातावरण तयार गरिने पनि बताउनुभयो । मुख्यमन्त्री बानियाँले अब समस्याग्रस्त घोषित सहकारीका सबैले पैसा पाउने अवस्था सिर्जना गर्ने बताउनुभएको छ ।
बागमती प्रदेशअन्तर्गत रहेका पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्ने कार्य हिजोदेखि प्रारम्भ भएको छ । बागमती प्रदेशले सिभिल बचत तथा ऋण सहकारी संस्था सोल्टिमोड, दर्शन बचत तथा ऋण सहकारी संस्था कीर्तिपुर, सुमेरु बचत तथा ऋण सहकारी संस्था पुल्चोक, नेश्नल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था सामाखुसी र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था खुसीबुलाई समस्याग्रस्त घोषित गरिएको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद सिग्देलले ऋणीले ऋण तिर्ने वातावरण बनाउन निकै मेहनत गर्नु परेको जनाउँदै नियम कानुनलाई आधार कठोर निर्णय चाल्ने बताउनुभयो ।











