मांसिमाको पहिचान बन्दै ताकमारु धान

मांसिमा । हिमाली जिल्ला संखुवासभा जैविक विविधता, प्राकृतिक सम्पदा र मौलिक कृषि उत्पादनका लागि परिचित रहेको छ । ग्रामीण भेगमा पुस्तौंदेखि खेती हुँदै आएको स्थानीय धानको जात ताकमारू विस्तारै चासोको विषय बन्न थालेको छ । आधुनिक तथा उन्नत जातका धानको विस्तारसँगै ओझेलमा परेको ताकमारू धानलाई संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकार, स्थानीय तह र कृषकहरु सक्रिय हुन थालेका छन् ।

विशेष गरी मकालु गाउँपालिका वडा नं. ५ मांसिमा गाउँमा परम्परागत रूपमा ताकमारु धान खेती गरिँदै आएको छ । यहाँका करिब २ सय ९५ घर परिवारले ताकमारु धानको खेती गर्ने गरेका छन् । अर्थात् मांसिमा बासीहरुले लगाउने धान बाली हो, ताकमारु । करिब ५ हजार रोपनी क्षेत्रफलमा लगाउने गरेको स्थानीय ज्ञान बहादुर गुरुङले जानकारी दिए । उनका अनुसार ताकमारू धानको खेती कहिले देखि सुरु भएको हो, बीउ उत्पादन कहाँबाट भएको भन्ने यकिन हुन सकेको छैन ।

यसअघि मकालु गाउँपालिका कै वडा नं. २ सेदुवा तिर पनि ताकमारु धान रोप्ने गरिन्थ्यो । तर अहिले यहाँ लोप हुने अवस्था छ । यस्तै भोटखोला गाउँपालिकाका केही स्थानमा अहिले पनि यो धान रोप्ने गरिएको छ भने पछिल्लो समय मांसिमा बाटै बीउ लगेर ताप्लेजुङ जिल्लामा पनि ताक्मारु विस्तार गरिएको गुरुङले जानकारी दिए । तर ताकमारु धान सबै भन्दा बढी अर्थात् ताकमारुको राजधानी मांसिमा रहेको गुरुङ दावी गर्छन् ।

ताकमारु धानको स्वाद, स्थानीय हावापानीसँगको अनुकूलता तथा पोषणयुक्त गुणका कारण विस्तारै यसको चर्चा सुरु हुन थालेको छ । अन्य धान भन्दा डल्लो आकार, कम सिँचाईमा पनि उत्पादन हुने र सुगर जस्ता दिर्घ रोगीहरुका लागि समेत उपयुक्त खाद्यबाली मानिन्छ । यस्तै बच्चाहरुलाई खाना (लिटो) उपयुक्त रहेको साथै झाडापखालाका बिरामीलाई खानको लागि महत्वपूर्ण मानिन्छ । यस्तै पिसाब पोल्ने समस्या समाधान गर्ने उनीहरुको दावी छ । तर यसको विशेष अनुसन्धान भने भएको छैन । तर यसको प्रयोग गरेकाहरुले यो दावी गर्छन् । पकाउँदा रातो रङमा परिवर्तन हुने यो धानको अनौंठो गुण रहेको गुरुङको भनाई छ । यसको परिक्षणका लागि सम्बन्धीत निकायमा पठाइए पनि हालसम्म कुनै जानकारी प्राप्त नभएको गुरुङको भनाई छ ।

मकालु गाउँपालिका–५ मांसिमाका फाँट तथा पाखाबारीमा वर्षायाम सुरु भएसँगै किसानहरू ताकमारू धान रोप्न व्यस्त हुन्छन् । असार–साउन महिनामा हरियालीले ढाकिएका खेतहरू धान पाक्ने समयमा सुनौलो रंगमा परिणत हुन्छन् । यसले गाउँको प्राकृतिक सौन्दर्यलाई झन् आकर्षक बनाउने गर्दछ । ताकमारु धान कै ३ प्रकारहरु छन् । जसमा धानको गोटीमा नै लामो सुइरो भएको, छोटो सुईरो भएको र सुईरो नभएको पाइन्छ । जसमा लामो सुईरो भएको प्रजाति सबै भन्दा बढी उत्पादन दिने ताक्मारु रहेको गुरुङको भनाई छ । भुईधान भनेर चिनिने पकाउँदा सेतो रङ बस्ने अर्को प्रजाति पनि ताकमारुकै रहेको उनको भनाई छ ।

स्थानीय किसानहरूका अनुसार ताकमारू धान मांसिमाको माटो र मौसममा राम्रोसँग उत्पादन हुने भएकाले यो धान यहाँका कृषकहरूको रोजाइमा पर्दै आएको छ । धेरै परिवारहरूले आज पनि आफ्नै उत्पादनबाट वर्षभरिका लागि आवश्यक खाद्यान्न जोहो गर्ने गरेका छन् । समयमै यसको संरक्षण, अनुसन्धान र प्रवद्र्धन गर्न सकिएमा ताकमारू धानले मकालु गाउँपालिका मात्र होइन, समग्र संखुवासभाको विशिष्ट कृषि पहिचानका रूपमा राष्ट्रिय स्तरमा समेत परिचित हुने सम्भावना बोकेको छ ।

ताक्मारु धानलाई व्यवस्थित तथा कृषकलाई प्रोत्साहन स्वारुप प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०८०/०८१ मा ७ लाख रुपैंया बजेट विनियोजन गरिएको थियो । ७५ प्रतिशत अनुदान रहेको यस बजेटबाट प्याकेजिङ तथा ब्रान्डिङका लागि आवश्यक उपकरण खरिद गरिएको छ । गुन्यहाङ कृषक समुहमा आबद्ध कृषकहरुले उक्त कार्य गरेका हुन् । उनीहरुले प्याकेजीङ मेसिन ३ ओटा, तौल नाप्ने मेसिन १ ओटा, जेनेरेटर २ ओटा र पाइप खरिद गरेको थियो ।

यस्तै मकालु गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ७५ प्रतिशत अनुदानसहित ४ लाख रुपैंया विनियोजन गरेको थियो । मकालु स्वावलम्बन कृषक समूहले उत्पादन गर्नेगरी प्याकेजिङ मेसिन खरिद गर्न उक्त रकम विनियोजन गरिएको मकालु गाउँपालिका कृषि शाखा प्रमुख वाल्मिकी चौधरीले बताए । चौधरीका अनुसार स्थानीयले दावी गरे अनुसारको पौष्टिक तथा स्वास्थ्यवर्दक धान ताकमारु हो की हैन भन्ने जानकारी पुष्टी हुनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पठाइएको तर त्यसको जानकारी आइसकेको छैन । उक्त बजेटबाट उत्पादित चामललाई ब्रान्डिङ गर्न र प्रचार गर्न मुख्य भूमिका रहेको बीर बहादुर गुरुङले बताए ।

यस्तै चालु आर्थिक वर्षमा प्रदेश सरकारमार्फत १५ लाख सिंचाई निर्माण र १० लाख रुपैंया पनि सिंचाई अर्थात कुलो निर्माणको लागि योजना आएको थियो । उक्त योजना सम्पन्न भएको गुरुङले बताए ।

तर यो बजेट पर्याप्त नभएको भन्दै तत्काल कुलो निर्माण गर्न नसकिने स्थानमा पाइप विस्तार गर्न स्थानीयको माग छ । यसअघि डिपीआर नै तयार गरेर कुलो निर्माणका लागि दुई करोड खर्च हुने उल्लेख भएपनि हालसम्म डिपिआर अनुसार काम हुन नसकेको उनीहरुको गुनासो छ ।

ताकमारुलाई ब्रान्डिङका लागि स्थानीय कृषकहरुले ताकमारु धानको प्रजाति दर्ता गर्ने प्रयास गरेका छन् । कृषि ज्ञान केन्द्र संखुवासभामा मांसिमाका ५ जना कृषकहरु दर्ता प्रक्रियाका लागि गएका थिए । कुनै दिन ताकमारु लोप हुने अवस्थामा पुगे बीउ संरक्षण हुने उद्धेश्यले यो प्रक्रिया सुरु गरिएको गुरुङले बताए । उक्त विषयमा जानकारी लिदा कृषि ज्ञान केन्द्र खाँदबारीका प्रमुख छत्र बहादुर विश्वकर्माले दर्ता प्रक्रिया भइसकेको र अब चाँडै ताक्मारुको छुटै भान प्रजाति दर्ता हुने बताए । ताकमारुको विषयमा आफु परिचित भएकाले यसलाई दर्ता गर्न आफ्नो पहल पनि मुख्य भूमिकामा रहने जानकारी दिए ।

यहाँबाट उत्पादन गरिएका ताकमारु करिब एक हजार किलो बजारमा बिक्रिका लागि वितरण गरिएको स्वालम्वन कृषक समूहका सचिव ज्ञान बहादुर गुरुङले जानकारी दिए । हरेक १ किलोग्रामको चामल प्याकेजिङ गरिएको छ । जसको मूल्य २ सय ५० रहेको छ । उक्त प्याकेजिङका ताकमारु नेपाल बाहिर हङकङ, अस्ट्रेलिया, जापान, फ्रान्स लगायतका मूलुकहरुमा बिक्रि गरिएको छ ।

मांसिमाका पुर्व वडाअध्यक्ष जापान गुरुङका अनुसार विषेश गरेर वैदेशिक मुलुक अन्तर्गत कोशेलीका रुपमा ताक्मारु लैजाने गरिएको बताए । तर उनीहरुको प्रतिक्रिया सकारात्मक रहेकाले अन्य चिनजानका व्यक्तिहरुले कोशेली लैजान बढी प्रयोग भइरहेको छ । ताकमारुलाई यसको विशेषताको आधारमा र यसको गुण तथा पौष्टिकताको आधारमा खरिद तथा विक्रि हुन नसकेकोमा गुरुङको गुनासो छ ।

स्थानीय ज्ञान बहादुर गुरुङ भन्छन्, ताकमारू धानको सबैभन्दा ठूलो विशेषता यसको स्वाद हो । यस धानको चामलबाट बनेको भात मिठो र पाचनका लागि सहज हुन्छ । ग्रामीण क्षेत्रमा पाहुना सत्कार, विशेष अवसरमा समेत ताकमारू धानको चामल प्रयोग गर्ने चलन रहेको छ ।

यसलाई रासायनिक मल आवश्यक नपर्ने र केही रोग तथा कीराको आक्रमण पनि तुलनात्मक रूपमा कम हुने किसानहरूको अनुभव छ । यही कारणले जैविक खेतीका लागि समेत यो उपयुक्त भएको गुरुङको भनाई छ ।

जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा विभिन्न चुनौती थपिँदै गएको अवस्थामा स्थानीय जातका बालीहरू अझ महत्वपूर्ण बन्दै गएको छ । मांसिमाबासीहरुका लागि ताकमारू धान केवल खेती गर्ने बाली मात्र होइन, परिवारको खाद्य सुरक्षासँग जोडिएको आधार पनि हो ।

विगतमा संखुवासभाका अधिकांश गाउँहरुमा यही धान खेती गर्दै आएको बताइन्छ । तर पछिल्ला वर्षहरूमा उत्पादन बढी दिने उन्नत जातका धानहरू भित्रिएपछि स्थानीय जातको खेती क्षेत्र क्रमशः घट्दै गएको छ । तर मांसिमाका कृषकहरुले यसैलाई उत्पादनमा जोड दिएर मांसिमाको पहिचान बनाउन लागि परेका छन् ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search