काठमाण्डौ । कर्णाली नदीमा हराइरहेको मिनिबस र यात्रु खोजीका लागि चितवन कुरिनटारबाट सोनार क्यामरा र म्याग्नेटसहित खटिएको टोली पुगेको छ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडाबाट अस्ति बिहीवार कर्णाली नदीमा खसेको मिनिबस र यात्रु अहिलेसम्म भेटिएका छैनन् ।
थप खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोताखोरको टोली खटिएको हो । सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङ्गको कमाण्डमा चार जना गोताखोरसहितको टोली हिजो त्यसतर्फ गएको थियो ।
यो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामरा र म्याग्नेटलगायतका उपकरण लिएर गएको छ । ती उपकरणको सहयोगमा आज थप खोजी कार्य हुनेछ । नदीमा खसेको मिनिबसमा रहेका पाँच जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्तिमार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीसहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो । चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका हुनुहुन्छ ।
सिर्जना कालिकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालिकोटको पचालझरना गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ । दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले सनाखत गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकका अनुसार अरु ४ जनासहित गाडीको खोजी भैरहेको छ । सनाखत भएका ५ जनाबाहेक अरु यात्रु थिए वा थिएनन् भन्ने अझै खुलेको छैन । १०५५ नम्बरको मिनिबस अस्ति बिहीवार कर्णाली नदीमा खसेको थियो ।











