काठमाण्डौ । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साँङ्बागेतडाबाट कर्णाली नदीमा खसेको मिनिबसमा रहेका पाँच जनाको सनाखत भएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्तिमार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदीसहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो । चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका–८ माझीगाउँका हुन् ।
सिर्जना कालिकोटको रास्कोट नगरपालिका–२ खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालिकोटको पचालझरना गाउँपालिका–१ का बासिन्दा हुनुहुन्छ । दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले सनाखत गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) श्रवणकुमार बिकका अनुसार अरु ४ जनासहित गाडीको खोजी भैरहेको छ । सनाखत भएका ५ जनाबाहेक अरु यात्रु थिए वा थिएनन् भन्ने अझै खुलेको छैन । १०५५ नम्बरको मिनिबस अस्ति बिहीवार कर्णाली नदीमा खसेको थियो ।
यसैगरी, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ । मुख्यमन्त्री कँडेलले हिजो कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै साधनस्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गर्नुभएको हो ।
छलफलमा उहाँले अहिलेसम्म सुरक्षा निकायहरुबाट खोजी तथा उद्वारमा भइरहेको कामको प्रशंसा गर्दै आवश्यकताअनुसार हेलिकप्टरबाट परिचालन गर्न निर्देशन दिनुभयो । उहाँले दैलेखदेखि भारतको सीमासम्म खोजीको दायरा विस्तार गर्न निर्देशन दिनुभयो ।
छलफलमा सशस्त्र प्रहरी बल नेपाल नं. ६ बाहिनी मुख्यायलय सुर्खेतका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णराज पाठकले घटनास्थलमा गोताखोर परिचालन गरिएको र थप जनशक्ति कुरिनटारबाट हिँडिसकेको जानकारी दिनुभयो ।











