कर्णालीको मुख्यमन्त्रीमा नेकपाका शाही नियुक्त

काठमाण्डौ । एमाले र नेकपाबीच हालै भएको तीन बुँदे सहमतिअनुसार प्रदेशमा नयाँ सरकार गठन शुरु भएको छ । हिजो एमालेको समर्थनमा कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का मङ्गलबहादुर शाही मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेता शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको प्रदेश प्रमुखको कार्यालय सुर्खेतका सूचना अधिकारी मनमाया काउचाले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहीले आज शपथ ग्रहण गर्नुहुनेछ । एमाले र नेकपाबीच गएको साउन ९ गते सत्ता समीकरणका लागि सहमति भएको थियो । त्यसअनुसार कोशी, बागमती र लुम्बिनीमा एमाले तथा कर्णाली र सुदूरपश्चिममा नेकपाले सरकारको नेतृत्व गर्नेछन् । कर्णालीमा नयाँ मुख्यमन्त्री चयन भए पनि अरू प्रदेशमा प्रक्रिया शुरु भैसकेको छैन ।

शाहीलाई आफ्नै दल नेकपाका १४ जना र सत्ता साझेदार दल एमालेका १० जना गरी २४ जना सांसदको समर्थन छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा सरकार गठनका लागि २१ सिट आवश्यक पर्छ । कर्णाली प्रदेश स्थापना भएयता पहिलो मुख्यमन्त्री महेन्द्रबहादुर शाही त्यसपछि क्रमशः जीवनबहादुर शाही, राजकुमार शर्मा, यामलाल कँडेल मुख्यमन्त्री बनिसक्नुभएको छ ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search