काठमाण्डाै । बाँकेमा निर्माणाधीन सेप्टिक ट्याङ्कीमा फसेर ३ जना मजदुरको ज्यान गएको छ । कोहलपुर नगरपालिका–३ शान्तिटोलमा दयाप्रसाद थारुको घरको आँगनमा सेप्टिक ट्याङ्की बनाउँदै गर्दा फसेर कोहलपुर–३ का कालु थारु, प्रकाश थारु र बिर्जा थारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरू निर्माण कार्यमा मिस्त्री तथा मजदुरका रूपमा कार्यरत थिए ।
डोजरको प्रयोग गरी सेप्टिक ट्याङ्की फुटाएर उनीहरूको शव निकालेको प्रहरीले जनाएको छ । सेप्टिक ट्याङ्कीमा मानिस फसेको सूचना पाएपछि घटनास्थलमा पुगेको प्रहरीले उद्धारमा कठिनाइ भएपछि फुटाउन लगाएको हो ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।











