युरोपेली फुटबलको नियामक निकाय ‘यूईएफए’ र बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले विश्वकपलगायतका आफ्ना प्रतियोगिताहरूमा निजी लगानी भित्र्याउने फिफाको प्रस्तावको आलोचना गरेका छन् ।
यूईएफएले यो प्रस्तावको आलोचना गर्दै यसले ‘सीमा नाघेको’ विज्ञप्तिमार्फत दाबी गरेको छ । यस्तै बेलायती प्रधानमन्त्री बर्नहमले यो योजना अघि बढाउनुको अर्थ फिफाले ‘आफ्नो आदर्श बेचेको’ ठहरिने जिकिर गर्नुभएको छ ।
विश्व फुटबलको सर्वाेच्च नियामक निकाय ‘फिफा’ ले ‘फुटबल विकास कोष’ लाई १० अर्ब अमेरिकी डलरभन्दा धेरै पुर्याउने तथा एउटा नयाँ परियोजनामा तेस्रो पक्षको लगानी भित्र्याउने योजना रहेको जनाएको छ ।
यो समाचार सर्वप्रथम ‘फाइनान्सियल टाइम्स’ र ‘द टाइम्स’ मा प्रकाशित भएको थियो जसमा ‘द टाइम्स’ ले याे योजनाबाट फिफा अध्यक्ष जियानी इन्फान्टिनोले करोडौं पाउन्ड कमाउन सक्ने दाबी गरेको थियो ।
प्रस्तावहरूको विवरण समेटिएको एक विस्तृत विज्ञप्तिमा फिफाले आफ्ना व्यावसायिक तथा कार्यक्रमसम्बन्धी गतिविधिहरूलाई एकीकृत गर्न स्थापना गरिने नयाँ सहायक कम्पनी ‘फिफा फरवार्ड इन्टरप्राइज’ (एफएफई) मा ‘अल्पमतको तथा व्यवस्थापनमा नियन्त्रण नहुने प्रकृतिको लगानी’ गर्न तेस्रो पक्षहरूलाई आमन्त्रण गर्ने जनाएको छ ।
यो योजनालाई फिफाका २११ सदस्य राष्ट्रहरूको मतदानद्वारा पारित गर्न अझै बाँकी छ । तर यदि स्वीकृति प्राप्त भएमा ‘थ्राइभ इटरनल’ ले एफएफईका लागि प्रस्तावित लगानीकर्ता समूहको नेतृत्व गर्ने अपेक्षा छ ।
‘थ्राइभ’ एक अमेरिकी भेन्चर क्यापिटल फर्म हो जसको स्थापना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जेरेडका भाइ जोशुआ कुशनरले गर्नुभएको हो ।











