काठमाण्डाै । सुनसरीको देवानगञ्ज र कप्तानगञ्ज क्षेत्रमा भएको हिंसात्मक घटना तथा प्रहरीको गोली लागेर १ जनाको ज्यान गएको विषयलाई लिएर प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दलहरूले सरकारको तीव्र आलोचना गरेका छन् ।
देशको सुरक्षा संवेदनशीलतासँग जोडिएको यति ठूलो मुद्दा हुँदा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङ दुवै अनुपस्थित भएपछि सांसदहरूले उहाँहरूको खोजी र जवाफदेहिताको माग गर्दै सरकारको आलोचना गरेका हुन् ।
१४ दिनपछि बसेको संसद् बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीलगायत सबै प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको भूमिकामाथि प्रश्न उठाएका छन् ।
एमाले सांसद पद्मा अर्याल र कांग्रेस प्रमुख सचेतक बास्ना थापाले विगतका आन्दोलनमा राजीनामा माग्ने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री अहिले आफैँ नैतिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाउनुभयो । उहाँहरूले हिजो आक्रोश पोख्ने र सदनमा आँसु बगाउने नेतृत्व अहिले नागरिकको ज्यान जाँदा किन मौन बसेको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।
यस्तै नेकपा सांसद गोपाल शर्मा र राप्रपा प्रमुख सचेतक खुश्बु ओलीले घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न र गोली चलाउने आदेश कसले दियो भन्ने स्पष्ट पार्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्नुभयो ।
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सङ्कटको समयमा सरकार कोठाभित्र लुकेको टिप्पणी गर्दै देश चलाउन नसके प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्ने बताउनुभयो ।
प्रतिपक्षी सांसदहरूले बल प्रयोग र त्रास सिर्जना गरेर नभई संवाद, एकता र सामाजिक सद्भाव कायम गर्ने स्पष्ट योजनासहित प्रधानमन्त्री शाहले संसदमा आएर तत्काल स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् ।











