काठमाण्डाै । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले देशको समग्र सुरक्षा अवस्थाको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको बैठकले सुनसरी घटनापछि उत्पन्न परिस्थतिको समीक्षा गर्दै सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउने निर्णय गरेको हो । शाह प्रधानमन्त्री बनेपछि आज पहिलो पटक राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको हो ।
बैठकमा देशको पछिल्लो सुरक्षा अवस्थाका साथै गएको साउन १० गते सुनसरीमा भएको घटनाका सम्बन्धमा छलफल भएको थियो ।
बैठकमा राजनीतिक दल, स्थानीय सरोकारवाला र सुरक्षा निकायको एकीकृत प्रयासबाट सुनसरीको अवस्था सामान्यीकरणतर्फ उन्मुख भएको ब्रिफिङ भएको छ । भविष्यमा यस प्रकारका घटनाहरू दोहोरिन नदिन सुरक्षा निकाय र सम्बद्ध पक्षहरूबीच निरन्तर संवाद र समन्वय कायम गरिने निर्णय भएको परिषद्का सदस्य सचिव एवम् रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माले जानकारी दिनुभयो ।
बैठकले प्राकृतिक विपद्का घटनाहरूमा खोज, उद्धार तथा राहत कार्यलाई थप व्यवस्थित र समयमै परिचालन गर्न सरोकारवाला निकायहरूबीचको समन्वयलाई सुदृढ तुल्याउने निर्णय पनि गरेको छ ।











