बालेनलाई प्रचण्डको सुझाव – ‘अहङ्कार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ’

काठमाण्डाै । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई अनुभवी नेता र विज्ञहरूको ज्ञान एवम् अनुभवलाई आत्मसात् गर्न आग्रह गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजकाे बैठकमा सम्बोधन गर्दै संयाेजक प्रचण्डले देशका लागि जटिल समस्या समाधानका लागि पुराना र अनुभवी नेताहरूसँगको संवाद अपरिहार्य रहेको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिका लागि ती अनुभवहरू महत्त्वपूर्ण हुने उल्लेख गर्नुभयाे ।

प्रचण्डले प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै ‘आफू मात्रै पर्याप्त छु’ भन्ने सोच र अहङ्कारले काम गरेको भए त्यो देशका लागि दुर्भाग्यपूर्ण हुने टिप्पणी गर्नुभयो ।

उहाँले नेपाली कांग्रेस, नेकपा (एमाले) लगायतका राजनीतिक दलहरूसँग रहेका सङ्घर्षका अनुभवहरू वर्तमान सरकारका लागि मार्गदर्शक र सहयोगी सिद्ध हुनसक्ने धारणा राख्नुभयो । प्रतिपक्षलाई अवमूल्यन गर्ने, अपमानित गर्ने र संवादबाट टाढा भाग्ने प्रवृत्तिले अन्ततः देश, नागरिक र स्वयं सरकारलाई नै सङ्कटमा पार्ने प्रचण्डको चेतावनी छ ।

उहाँले भन्नुभयो, ‘म यो रोस्ट्रमबाट प्रधानमन्त्री बालेन शाहज्यूलाई एउटा कुरा भन्न चाहन्छु । नेपालमा विगतका अनेकौँ राजनीतिक उतारचढाव पार गरेका अनुभवी नेता, बुद्धिजीवी र विज्ञहरूको ठूलो पङ्क्ति छ । कठिन परिस्थितिमा देशलाई निकास दिने क्षमता भएका, सुशासन, सामाजिक न्याय र समृद्धिका लागि निरन्तर सङ्घर्ष गरेका तथा लोकतन्त्रका लागि झन्डै ७० वर्षसम्म जेल, यातना र बलिदान सहेका नेताहरूको अनुभव हाम्रो सम्पत्ति हो । उहाँहरूको अनुभव लिन, संवाद गर्न र सहकार्य गर्न प्रधानमन्त्रीलाई केले रोकेको होला भन्ने प्रश्न उठ्छ । म आफैँ पर्याप्त छु, मलाई कसैको आवश्यकता छैन भन्ने अहङ्कारले यस्तो भइरहेको हो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ ।’

संयाेजक प्रचण्डले सबै वर्ग, तह र तप्कालाई समेटेर अघि बढ्न पनि सरकारलाई सुझाव दिनुभयाे ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search