संखुवासभाको मकालु गाउँपालिका वडा नं. ३ गढी बजारमा माछा पोखरी पार्क निर्माण अन्तिम चरणमा पुगेको छ । मकालु गाउँपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको पोखरी युद्धसँग सम्बन्धित रहेको छ । पोखरी निर्माण स्थल वरिपरि युद्धकालमा बंकरहरु रहेको र त्यो भन्दा अगाडी यस स्थानमा पोखरी रहेको वडा अध्यक्ष बद्री बहादुर राईले जानकारी दिनुभयो । पोखरीमा एउटा ठुलो माछा रहेको किंबदन्तीका आधारमा सोही ठाउँमा पोखरी निर्माण गरिएकोे बताउनु भयो ।
माछालाई याम्फू भाषामा र्हेःन्ना भनिन्छ । पछिल्लो समय र्हेःन्नाबाट राना नाम रहन गएकोले यस स्थानमा रहेको टोललाई राना पोखरी टोल पनि भन्ने गरिएको छ । गढी बजार संखुवासभाकै एउटा गहना रहेको र युद्धकालका बंकरका भग्नावशेष रहेको ठाउँलाई संरक्षण गरी गत वर्ष नै गढीको संरचना निर्माण सम्पन्न गरिएको वडा अध्यक्ष राईले जानकारी दिनुभयो । पोखरी निर्माण भइरहेको स्थानमा पहिले पोखरीको ठूलो क्षेत्र भएपनि पोखरी सुकेपछी अहिले विभिन्न सरकारी कार्यालयहरुको संरचना निर्माण गरिसकीएको छ ।
वडा अध्यक्ष राईले आफ्नो कार्यकालमा ३–४ वटा योजना सम्पन्न गर्ने सोच रहेकोमा पोखरी उत्खनन् कार्य सफल भएको बताउनु भयो । पोखरी निर्माणका लागी गढी संरक्षण तथा संर्वद्धन अन्र्तगत वडा नं. ३ बाट ३ लाख र गाउँपालिकाबाट १० लाख बजेट विनियोजन गरिएको थियो । उक्त बजेटबाट १६ मिटर लम्बाई र ९ मिटर चौडाई भएको पोखरी निर्माण भएको निर्माणकर्ता हित कुमार कार्कीले बताउनु भयो । आगामी वर्ष पोखरीमा माछाको प्रतिमा राखिने र पार्क वरिपरीको अव्यवस्थित संरचना हटाईने वडा अध्यक्ष राईले जानकारी दिनुभयो ।











