काठमाण्डाै । प्रधानमन्त्री बालेन्द्र शाहले पूँजीबजारका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आज सिंहदरबारमा पूँजीबजार,धितोपत्र व्यवसाय क्षेत्रका सरोकारवाला निकाय र व्यक्तिहरूसँग छलफल गर्दै उहाँले यस क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।
आवश्यक नीति निर्माणसँगै बजारका समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै प्रधानमन्त्री शाहले यो बजारमार्फत लगानी वृद्धि, रोजगारी सिर्जना र राजस्वमा योगदान पुग्नुपर्ने बताउनुभयो ।
झन्डै १ घण्टा चलेको प्रधानमन्त्रीसँगको बैठकमा धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले आईपीओ निष्कासन प्रक्रियामा सुधार, प्रभावकारी नियमनलगाय विषयमा जानकारी गराउनुभएको थियो ।
यस्तै नेपाल स्टक एक्सचेन्स (नेप्से) का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर्स एसोसिएशनका पूर्वअध्यक्ष प्रियराज रेग्मी गरी तीनै पक्षको कुरा सुनेपछि प्रधानमन्त्री शाहले पूँजीबजारको विकासका लागि सरकार लागिपरेकाले आवश्यक सुझाव दिन र ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छलफलमा सहभागीहरूले बताएका छन् ।










