काठमाण्डौ । भारतको कोलकाताबाट कच्चा पदार्थ बोकेको ‘कार्गो रेल’ पहिलो पटक एकीकृत जाँच चौकी विराटनगर आइपुगेको छ । खानेतेल उत्पादनका लागि आवश्यक औद्योगिक कच्चापदार्थ लिएर गएको साउन १ गते कोलकताबाट छुटेको ४० कन्टेनरसहितको कार्गो रेल हिजो विराटनगर आइपुगेको हो । स्वास्तिक आयलको औद्योगिक कच्चापदार्थ लिई आएको रेललाई विराटनगर भन्सार कार्यालय प्रमुख उमेश श्रेष्ठ, व्यापारी, उद्यमी एवं सर्वसाधारणले स्वागत गरेका छन् ।
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो देशबाट आयात हुने मालसामानलाई जोगबनीस्थित भारतीय भन्सार ‘यार्ड’ हुँदै विराटनगर–१८ बुधनगर भेडियारीस्थित नेपाल भन्सार ‘यार्ड’ सम्म ल्याउने व्यवस्था कार्यान्वयनमा आएको छ । सडक मार्गको तुलनामा कार्गो रेल सुरक्षित, भरपर्दो र न्यून लागत हुनुका साथै झण्डै २४ घण्टाको समयावधिमा कोलकाताबाट विराटनगरसम्म आइपुग्ने भएकाले सामान ढुवानीमा सहज हुने व्यवसायीको भनाइ छ ।
वीरगञ्जमा मात्र उपलब्ध कार्गो रेल सुविधा अब विराटनगरमा समेत सञ्चालन भएपछि पूर्वी क्षेत्रका उद्योगी व्यवसायी खुसी भएका छन् । यसअघि विराटनगरमा २०८० जेठ १८ देखि कार्गो रेल सञ्चालनमा आएको थियो ।











