काठमाण्डाै । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले विश्वकप फाइनलपछिको घटनाबारे अर्जेन्टिनामाथि अनुसन्धान शुरू गरेको छ । फिफाको अनुशासन समितिले अमेरिकाको मेटलाइफ रङ्गशालामा फाइनल खेल सकिएपछि के भएको थियो भन्नेबारे छानबिन गर्न अनुशासन तथा आचारसंहितासम्बन्धी अभियोजक नियुक्त गरेको छ ।
झडपमा संलग्न कुनै पनि खेलाडी वा प्रशिक्षक निलम्बनमा पर्न सक्छन्, साथै अर्जेन्टिनी फुटबल सङ्घ (एएफए) लाई पनि जरिवाना हुन सक्छ ।
अस्ति आइतवार बिहान १–० ले हार बेहोरेपछि अर्जेन्टिनाको टोलीका सदस्य तथा सहायक कर्मचारीहरू र स्पेनका खेलाडीहरूबीच भनाभन भएको थियो । त्यस बेला स्पेनका खेलाडीहरू आफ्नो विश्वकप सफलताको खुशी मनाउँदै थिए ।
फिफाले जनाएअनुसार शुरूमा स्पेनका एरिक गार्सियालाई घाँटीमा समाएर धकेलेपछि रेफ्री स्लाभको भिन्सिचले अर्जेन्टिनाका लिआन्ड्रो परेडेस लाई मैदानबाट बाहिर पठाएका थिए । त्यसको केही समयपछि नै परेडेसको ‘राताे कार्ड’ अभिलेखबाट हटाइएको र त्यस बेला कुनै पनि अनुशासनात्मक कारबाही नगरेको फिफाले जनाएको छ । फाइनल खेलकै क्रममा अर्जेन्टिनाका एन्जो फर्नान्डेज रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।
यस्तै इङ्ल्यान्डसँगको सेमिफाइनल खेल २–१ ले जितेपछि अर्जेन्टिनाका खेलाडीहरूले फकल्यान्ड टापुमा आफ्नो देशको दाबीको समर्थनमा ब्यानर प्रदर्शन गरेपछि फिफाले उनीहरूविरुद्ध सम्भावित अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाएको छ ।











