काठमाडौं । नेपाल विश्वमा सर्वोच्च शिखर सगरमाथासहित हिमाल, भगवान् गौतमबुद्धको जन्मस्थल, अद्वितीय र अनुकरणीय प्राकृतिक सौन्दर्य, संस्कृति, पर्यटन र पदमार्गको अनुपम गन्तव्य देशका रूपमा परिचित हुँदै आएको छ । तीन ‘ज’ अर्थात् (जमिन, जङ्गल, जलस्रोत) सहित विशेष गरेर पर्यटन र कृषिलाई नेपालको आर्थिक प्रचूर सम्भावनाका क्षेत्रका रूपमा लिइन्छ ।
पछिल्ला वर्षहरूमा नेपालले विशेष गरेर आँखा स्वास्थ्य सेवा क्षेत्रमा फड्को मार्न थालेको छ । यसले नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ । आँखा स्वास्थ्य सेवाका क्षेत्रमा नेपालले हासिल गरेको प्रगति र अन्तरराष्ट्रिय विश्वासले देशलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवाको आकर्षक गन्तव्य ( हव) का रूपमा स्थापित गर्ने आधारशिलाहरु तयार गरेको छ ।
आधारशिलाको एउटा अनुपम उदाहरण नेपाल नेत्रज्योति सङ्घअन्तर्गत सञ्चालित आँखा अस्पतालहरूले विदेशी नागरिकलाई प्रदान गरिरहेको आँखा स्वास्थ्य उपचार सेवा हो । हाल सङ्घको सञ्जालभित्र २८ आँखा अस्पताल र २२६ आँखा उपचार केन्द्र आबद्ध छन् ।
सङ्घअन्तर्गत सञ्चालित ती आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष २०८२/८३ मा मात्र भारतलगायतका विदेशी बिरामीलाई सेवा प्रदान गरी एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा नेपाल भित्रयाएका छन् । ‘गुणस्तरीय सेवा’ वापत यो मुद्रा भित्रयाउनु प्रचुर संभावनाको ढोका खोल्नु हो ।
उपचारका लागि आउने विदेशी बिरामीमध्ये बढी भारतबाट आउने गरेको छ भने बङ्गलादेश, भुटानलगायत अन्य मुलुकका नागरिकले पनि नेपालका आँखा अस्पतालबाट सेवा लिइरहेका छन् । यो रकमलाई अस्पतालहरूको आयको तथ्याङ्कका रूपमा मात्र हेर्नु पर्याप्त हुँदैन । यसले नेपालको स्वास्थ्य सेवाप्रति विदेशी नागरिकको बढ्दो विश्वास, नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीको दक्षता र यहाँ उपलब्ध नेत्र उपचार सेवाको गुणस्तरलाई समेत प्रतिविम्बित गर्छ ।
साथै, स्वास्थ्य सेवा पनि नेपालका लागि विदेशी मुद्रा आर्जन गर्ने महत्वपूर्ण क्षेत्र बन्न सक्ने सम्भावनालाई यसले स्पष्ट पारेको छ । सो आवमा नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल पाँच करोड दुई लाख ४८९ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५६ लाख ५९ हजार ६२४ जनाको आँखाको शल्यक्रिया भइसकेको छ ।











