काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनको सन्दर्भमा तीन ठूला दलहरू मिल्नुपर्ने प्रस्तावमा विमति जनाउनुभएको छ । आज बिहान ललितपुरमा सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण तथा ४४ औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यो प्रस्ताव लोकतान्त्रिक मूल्य र जनमतको विपरीत रहेको बताउनुभयो । सभापति थापाले तीन दल मिलेर सरकार बनाउनु प्रदेश संसदलाई प्रतिपक्षविहीन बनाउनुभएको टिप्पणी गर्नुभयो । कांग्रेसले यसलाई स्वीकार गर्न नसक्ने उहाँको भनाइ छ ।
विगतमा कांग्रेसले सत्ताकै लागि कतिपय गल्ती गरेको स्वीकार गर्दै सभापति थापाले अब सिद्धान्तमा सम्झौता नगर्ने बताउनुभएको छ । राजनीतिक दलहरूमा देखिएको सत्तामुखी प्रवृत्तिको आलोचना गर्दै थापाले बिहानसम्म सत्तापक्ष भएको दल भोलिपल्ट प्रतिपक्ष र प्रतिपक्षमा भएको दल एकाएक सत्तापक्ष हुने प्रवृत्तिले गर्दा राजनीतिको साख गिरेको बताउनुभयो ।
सभापति थापाले पार्टीमा नयाँ पुस्ताको आगमन र उनीहरूको अर्थपूर्ण सहभागिता अपरिहार्य रहेको पनि बताउनुभएको छ । नयाँ पुस्ताको सहभागितालाई ‘टोकन’ वा औपचारिकतामा मात्र सीमित राख्न नहुने उहाँको तर्क छ ।











