अमेरिका र चीनबीच आउँदो सेप्टेम्बरमा कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ सम्बन्धी वार्ता हुने भएको छ । एकअर्काका बढ्दो शक्तिशाली ‘फ्रन्टियर मोडेल’ (अत्याधुनिक एआई प्रणाली) बाट उत्पन्न जोखिमलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा जुधिरहेका दुई प्रतिस्पर्धी महाशक्ति राष्ट्रहरूबीच सेप्टेम्बरमा एआईसम्बन्धी वार्ता हुने समाचार संस्था रोयटर्सले जनाएको छ ।
गएको मे महिनामा भएको ट्रम्प–सी शिखर वार्ताको एक महत्त्वपूर्ण नतिजाका रूपमा रहेको ‘एआई’ सम्बन्धी वार्ता चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित सेप्टेम्बर २४ को अमेरिका भ्रमणअघि नै हुने सम्भावना छ । यद्यपि वार्ताको मिति भने अझै तय नभइसकेको खबरमा उल्लेख छ ।
आर्थिक, राजनीतिक र सैन्य प्रतिद्वन्द्वीका रूपमा रहेका चीन र अमेरिका विश्वव्यापी रूपमा तीव्र भइरहेको एआई प्रतिस्पर्धाका माझ एकअर्काको एआई क्षमतालाई लिएर बढ्दो चिन्तामा छन् ।
दुई देश अत्याधुनिक एआई मोडेलहरूलाई कसरी नियमन गर्ने भन्नेबारे विचार गरिरहेका छन् जसले सैन्य क्षमता सुदृढ पार्न, महत्त्वपूर्ण पूर्वाधारमा साइबर आक्रमण गर्न र श्रम बजारमा अवरोध पुर्याउन सक्छन् ।
यसअघि चिनियाँ राष्ट्रपति सीले एआईको क्षेत्रमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिने सङ्केत दिनुभएको थियो । शाङ्घाईमा आयोजित विश्व एआई सम्मेलनमा उहाँले एआई तीव्र गतिमा विकास भइरहेकाले यसको जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताउनुभएको थियो ।











