वैज्ञानिकहरूले पृथ्वीजस्तै वायुमण्डल भएको ग्रह पत्ता लगाए

अनुसन्धानकर्ताहरूले पहिलो पटक टाढाको ताराको परिक्रमा गरिरहेको पृथ्वीजस्तै चट्टानी ग्रहको वरिपरि वायुमण्डल पत्ता लगाएका छन् । यो खोज सौर्यमण्डलबाहिर पृथ्वीजस्तै अवस्था भएका ग्रहहरू हुन सक्छन् भन्ने सबैभन्दा बलियो प्रमाण भएको अनुसन्धानकर्ताहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यस ग्रहको वायुमण्डलमा हिलियम ग्यास फेला परेको छ । हिलियम आफैँमा जीवनका लागि उपयुक्त मानिँदैन तर वैज्ञानिकहरूले त्यहाँ अन्य ग्यासहरू पनि हुन सक्ने विश्वास गरेका छन् ।

यस अनुसन्धानका प्रमुख लेखक अमेरिकाको हार्भर्ड विश्वविद्यालयका डा. कोलिन चेरुबिमले यस खोजलाई ‘ठूलो उपलब्धि’ भन्नुभएको छ । उहाँका अनुसार पहिलो पटक अर्को ताराको बसोवासयोग्य क्षेत्रमा रहेको चट्टानी ग्रहमा वायुमण्डल पत्ता लागेको हो ।

‘एलएचएस ११४० बी’ नामक यो ग्रह पृथ्वीबाट ४८ प्रकाश वर्ष टाढा छ । यो ग्रहले सूर्यभन्दा निकै सानो र कम तातो–रातो ताराको परिक्रमा गर्छ । अहिलेसम्म वैज्ञानिकहरूले टाढाका ताराहरूको परिक्रमा गरिरहेका ६ हजारभन्दा धेरै ग्रहहरू पत्ता लगाएका छन् । पछिल्लो अनुसन्धानले अर्काे ग्रहमा जीवनको खोजीतर्फ अर्काे महत्त्वपूर्ण पाइला अघि बढाएको खबरमा उल्लेख छ ।

‘साइन्स’ जर्नलमा प्रकाशित यस अनुसन्धानका लेखकहरूले अहिलेसम्म अन्य कुनै पनि ग्रहमा जीवन फेला नपारेको स्पष्टरूपमा बताएका छन् । तर ग्रहमा जीवनको सम्भावनाका लागि पानीको उपस्थिति अनिवार्य हुन्छ । ग्रहको तापक्रम न त धेरै तातो न त धेरै चिसो भएको अवस्थामा जीवनका लागि उपयुक्त हुन्छ ।

अहिलेसम्म वैज्ञानिकहरूले आ–आफ्ना ताराहरूको ‘गोल्डिलक्स जोन’ मा सयौँ ग्रहहरू पत्ता लगाएका छन् । यद्यपि तीमध्ये केही दर्जन मात्र पृथ्वीजस्तै साना र चट्टानी छन् । यसलाई यस्ता ग्रहहरूमा जीवनको सम्भावना हुन सक्ने एउटा महत्त्वपूर्ण सङ्केतका रूपमा पनि लिइन्छ ।

वैज्ञानिकहरूले जीवनको खोजीमा ‘एलएचएस ११४० बी’ ग्रहलाई मात्र हेरिरहेका छैनन् । वैज्ञानिकहरू ‘के २–१८ बी’ नामक सब–नेपच्युन ग्रहप्रति पनि विशेषरूपमा इच्छुक छन् ।

यसमा पानीको प्रचुरता भएको क्षेत्र हुन सक्ने विश्वास गरिन्छ । वैज्ञानिकहरूले त्यहाँ ‘डाइमिथाइल सल्फाइड’ नामक ग्यासको सङ्केत पत्ता लगाएपछि यो ग्रह चर्चामा आएको थियो । पृथ्वीमा यो ग्यास समुद्री जीवहरूसँग सम्बन्धित मानिन्छ ।

तर सन् २०२५ मा नासाको नेतृत्वमा भएको पुनः विश्लेषणले यो सङ्केत पुष्टि गर्न सकिने गरी बलियो नभएको देखाएको थियो ।

यो चित्र हेरेर तपाईलाई कस्तो लाग्यो ?🤔

खोजि गर्नुहोस ...

Search